१७ असार २०८१, सोमबार

 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कोषाध्यक्ष विश्वकर्मालाई पितृशोक

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कोषाध्यक्ष, जनविश्वास बचत तथा ऋण सहकारीका अध्यक्ष, नागरिक सञ्चार प्रालिका सञ्चालक सदस्य तथा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजी विश्वकर्मालाई पितृशोक परेको छ ।

असार १३ गते दिउँसो विश्वकर्माका पिता रामशरण विश्वकर्माको निधन भएको हो ।सय वर्षीय विश्वकर्माका दुई श्रीमती, तीन छोरा र आठ छोरी छन् ।

उनी नेपालको दलित आन्दोलन तथा बागलुङमा सुनचाँदीको व्यवसायिक कालिगढको काम सुरु गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।

विश्वकर्माले आजभन्दा ८० वर्ष पहिले विसं २००० सालमा बागलुङ बजारमा व्यवसायिक रुपमा सुनका गहना बनाउन सुरु गरेका थिए ।नेपालको पहिलो दलित विद्रोह बागलुङबाट सुरू भएको थियो ।

विसं २००३ सालतिर देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थालेको थियो।

सोही समयमा दलितहरूको पहिलो संगठित आन्दोलन सुरु गरेका नेता भगवत सर्वजीतसँगै दलित विद्रोहमा रामशरण पनि सच्चा सहयात्री थिए र दलित आन्दोलनको सुरुवात गरेका थिए ।

सर्वजीतको संगतले उनले पनि दलित समुदायमा पण्डितको काम गरे । अध्ययनमा सँधै रुची राख्ने उनी धर्मग्रन्थका पुस्तकहरु अध्ययन गरे र आफैं पण्डित बने।दलित समुदायमा हिन्दु परम्परा अनुसारका विवाह व्रतवन्ध, न्वारन गर्ने शुभसाइत हेर्नेलगायत काम गरेर उनी विश्वकर्मा समुदायका पण्डितको रुपमा परिचित छन् ।

उनले भारतीय सेनामा कार्यरत बहिनीज्वाइँ हिक्मतसिँह विश्वकर्माबाट प्रारम्भिक शिक्षा लिएका थिए ।सर्वजीतको नेतृत्वमा स्थापना भएको विश्वकर्मा प्राथमिक विद्यालयको स्कुल निर्माण समितिको उनी कोषाध्यक्ष भएका थिए ।

विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि स्थायी स्वीकृति पाएको विश्वकर्मा माविको उनले विसं २०२२ सालसम्म संस्थापक कोषाध्यक्ष भएर काम गरेका थिए ।

उनी भगत सर्वजीत विश्वकर्माको अगुवाईमा विसं २००६ सालमा गठित श्री विश्वकर्मा सर्वजन संघको केन्द्रीय संगठनमन्त्री भएका थिए ।

विसं २०१५ सालमा मनावीर विश्वकर्माको नेतृत्वमा गठन भएको विश्व सर्वजन सुधार समितिको केन्द्रीय सदस्य भएर काम गरेका थिए ।

साथै विसं २०४९ सालमा श्री ज्योति पुञ्ज प्राथमिक विद्यालयको संस्थापक तथा अग्रणी सहयोगदाताबाट व्यवस्थापन समिति सदस्य र विसं २०६९ सालमा गर्ग गोत्रीय घमाल आचार्य कुल मूल सेवा समितिको वरिष्ठ सल्लाहकार भएका थिए ।

उनकै अग्रसरतामा विसं २०७१ सालमा गर्गगोत्रीय घमाल आचार्यको वंशावलीसमेत तयार गरिएको थियो ।विसं २०६६ साल मंसिर २३ र २४ मा भएको पच्चीसौँ राष्ट्रिय दलित साहित्यकार सम्मेलनका अवसरमा भारतीय दलित साहित्य एकेडेमीब डा. अम्बेडकर फेलोसिप राष्ट्रिय सम्मानबाट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्