१७ असार २०८१, सोमबार

 

लाइसेन्स नभएका यादवद्वारा दुई वर्षदेखि धौलाश्री मेडिकल सञ्चालन

बागलुङ । बागलुङ नगरपालिका धौलागिरि क्याम्पस चोक स्थित धौलाश्री मेडिकल अवैधानिक रुपमा दुई वर्षदेखि संचालन गरेको पाईएको छ ।

नविन सेरवुजाको नाममा दर्ता रहेको मेडिकल विगत दुई वर्षदेखि अवैधानिक रुपमा दिलिप यादवले सञ्चालक गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, औषधि व्यवस्था विभाग, बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालयका प्रतिनिधिको रोहवरमा गत बैशाख ६ गते मेडिकल अनुगमन हुँदा मेडिकल अवैधानिक रुपमा संचालन रहेको फेला परेको थियो ।

टोलिले मेडिकल पसल बन्द गरेर प्रशासनमा उपस्थित हुन निर्देशन दिएपनि यादव प्रशासनमा गएका थिएनन् ।

मेडिकल संचालक यादवलाई आवश्यक कागजात लिएर प्रशासनमा हाजिर हुन चेतावनी दिइए पनि उल्टै यादवले प्रशासनको आदेश अटेर गरि पसल सञ्चालन गरी रहेका थिए ।

यसरी खुल्लम खुल्ला प्रशासनको निर्देशन अवज्ञा गर्दै गैर कानुनी ढंगले पसल सञ्चालन गरेका उनले औषधि व्यवस्था विभागमा दर्ता नभएका र बेच्नै नपाइने औषधिसमेत बेचेको पाइएको छ ।

मेडिकल बन्द गर्न औषधी व्यवस्था विभागले जिल्ला प्रशासन कार्यलयलाई पत्र पठाउदै धौलाश्री मेडिकललाई २१ दिनसम्म निलम्वन गरेको थियो ।

औषधि व्यवस्था विभागको पत्रपछि प्रशासनले गत जेठ ३० गते मेडिकलमा ताला लगाउन जादा टोली आएको थाहा पाउने बित्तिकै मेडिकल संचालक दिलिप यादव फरार भएका थिए । उनी फरार भएपछि प्रशासनले मेडिकलमा तला लगाएर छाडेको छ ।

फरार रहेका यादव हालसम्म प्रशासनमा हाजिर भएका छैन । यादव अहिले शक्ति केन्द्रहरुको प्रभाव प्रयोग गरेर पसल सञ्चालन गर्न भित्रभित्र लागि रहेका छन् ।

त्यसको लागि उनी औषधि व्यवस्था विभागमा धाइरहेका छन् ।

बैशाखमा गरिएको अनुगमनको क्रममा यादवले लागूऔषधमा गनिएका औषधि पनि बिना दर्ता र रजिष्ट«र नगरी बेचेको फेला परेको थियो ।

हरेक महिना ती औषधि कति मात्रामा कसलाई बेचेको समेत प्रतिवेदन बुझाउनु पर्ने प्रावधान रहेको छ । कतिपय औषधि अस्पतालको फार्मेसीबाट मात्रै बेच्न पाउने कानुनी व्यवस्था छ । तर यादवले ती औषधि पनि जथाभावी बेचेको भेटिएको हो।

औषधी व्यवस्था विभागले २१ दिनको लागि निलम्वनको पत्र पठाएको र निलम्वन फुकुवाको पत्र नआए सो मेडिकल नखुलाईने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नयाँ विश्वलाई बताउनु भयो ।

साथै बरालले यादवको विषय फर्मासिस्ट नभएकोले उनले संचालन गरेको धौलाश्री मेडिकलमा फर्मासिस्टको व्यवस्था विना संचालन गर्नु अवैध हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्