१७ असार २०८१, सोमबार

 

प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भन्दै क्रसर व्यवसायी मल्लविरुद्ध प्रहरीमा उजुरी

बागलुङ । ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक तथा बैकर्स बागलुङ अध्यक्ष हेमराज शर्मालाई ज्यान मार्ने धम्की दिएका छन्। शर्मालाई व्यवसायी यामबहादुर (रामकृष्ण) मल्लले ज्यान मार्ने धम्की दिएका हुन्।

प्रबन्धक शर्मालाई मोबाइल फोन मार्फत क्रसर व्यवसायी मल्लले ज्यान मार्ने धम्की दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा शर्माले उजुरी दिएका छन्।

मल्लले शर्मालाई हिजो साँझ ५ः४५ बजे र बिहीबार विहान १०ः४५ बजे फोन तथा म्यासेज मार्फत सिध्याइ दिने धम्की दिएको शर्माले बताउनु भयो ।

शर्मालाई पटकपटक धम्की दिएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित रूपमा उजुरी दर्ता गरेको बैंकर्स बागलुङका पूर्व अध्यक्ष दीपक शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भनी जिल्ला प्रहरी कार्यालयमा लिखित रूपमा उजुरी दर्ता भएको र धम्की दिने व्यक्तिलाई प्रहरी कार्यालयमा आउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले बताउनु भयो ।

मल्लले आफू जिल्ला बाहिर रहेकोले ३ दिनपछि मात्र आउने बताएको यादवले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

मल्लले पर्वत जिल्ला कुश्मा नगरपालिका-१ शहश्रधारामा क्रसर उद्योग सञ्चालन गर्दै आएका छन् ।

घटनाको विषयमा ग्लोवल आइएमई बैंक बागलुङ शाखा र बैंकर्स बागलुङले सुरक्षा  व्यवस्थाको  माग गरेको छ । बैकर्स बागलुङका अध्यक्ष शर्मा लगाएत सम्पूण बैंक तथा वित्तीय सस्थामा कार्यरत कर्मचारीको समेत आवश्यक सुरक्षा प्रवन्ध मिलाउन भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका हुन् ।

व्यवसायी मल्लले अन्य बैंकसँग लिएको ऋण नतिरेपछि कर्जा सूचना केन्द्रमा कालो सूचिमा समावेश गरिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सूचना केन्द्रको कालो सूचिमा रहेको व्यक्ति तथा संस्थाको सबै बैंक तथा वित्तीय संस्थामा रहेको खाता सोत रोक्का हुने कानुनी व्यवस्था रहेको छ ।

मल्लका श्रीमती राधिका मल्लले ग्लोबल आइएमई बैंक काठमाडौंको धापासी शाखा मार्फत कारोबार गर्दै आएको भएपनि जमानी बसेकी मल्लको समेत बैंक खाता रोक्का भएको थियो । बागलुङ शाखाबाट पनि कारोवार गर्न नहुने भएपछि मल्लले शर्मालाई धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्