१७ असार २०८१, सोमबार

 

बडिगाड गाउँपालिकामा अचार र बाँसबाट हस्तकलाका सामग्री बनाउने तालिम

गुल्मी । बागलुङको बडिगाड गाउँपालिकाले अचार र बाँसबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम दिएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत वडा नं २ जिमीमा उक्त तालिम सम्पन्न भएको हो ।

दुई विधामा सञ्चालन भएको तालिममा बाँसबाट आकर्षक हस्तकलाका सामाग्री निर्माण गर्ने तर्फ १२ जना प्रशिक्षार्थी सहभागी भएका थिए । भने तालिम २० दिनसम्म चलेको थियो । त्यस्तै अचार बनाउने तालिममा १० जना सहभागी थिए भने तालिम १ हप्तासम्म चलेको थियो ।

पछिल्लो समय बाँसबाट हस्तकलाको सामाग्री निर्माण गर्नेहरुको संख्या न्यून रहेकाले बाग्लुङ र गण्डकी प्रदेशमै यसको अथाह सम्भावना रहेको भन्दै गाउँपालिकाका योजना शाखा प्रमुख एवम् तालिम संयोजक कमल शर्माले सिकेको सीपलाई व्यवहारमा लागु गरी सफल लघु उद्यमी बन्न आग्रह गर्नुभयो ।

स्थानीय कच्चा पदार्थको उपयोग गरी आय आर्जन बढाउन यो तालिमलाई अवसरको रुपमा प्रयोग गर्न उहाँको सुझाव थियो ।

सहभागीहरुले बाँसबाट फर्निचर, फूलदानी, कलमदानी, कुर्ची, चुरा राख्ने स्ट्यान्ड, फोटो राख्ने फ्रेम लगायतका विभिन्न आकर्षक सामग्री बनाएका थिए ।

उनीहरूले बनाएको बाँसका सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले कोसेली घरको निर्माण गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयो ।

तालिमको सीप व्यवहारमा लागु गरी धेरै भन्दा धेरै सामग्रीहरु उत्पादन गर्न आग्रह गर्दै उहाँले त्यसको बजारीकरणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

बाँसबाट हस्तकलाका सामग्री निर्माण गर्ने तालिमको तनहुँका प्रशिक्षार्थी तिर्थलाल श्रेष्ठ र अचार बनाउने तालिमको बडिगाड ५ की भविकला गौतमले सहजिकरण गर्नुभएको थियो ।

तालिममा सहभागीहरुले तालिम निकै उपयोगी भएको भन्दै तालिमबाट प्राप्त गरेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्