१५ असार २०८१, शनिबार

 

गलकोट नगरले स्वच्छ आलोचना र सकरात्मक सुझावलाई सधै आत्मसाथ गर्छ : मेयर भरत शर्मा गैरे

गलकोट । गलकोट नगरपालिकाले महालेखा परीक्षक कार्यालयको प्रतिवेदनको विषयमा सामाजिक सञ्जालमा आएको विषयलाई पत्रकार सम्मेलन मार्फत प्रष्ट पारेको छ ।

नगरपालिकाले सकरात्मक सुझाव र सल्लाहलाई सधै आत्मसाथ गर्दै आएको र कुनै गुनासो,  स्वच्छ आलोचना भए त्यसको समाधानको लागि आफू तयार भएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो ।

नियतवस जनप्रतिनिधि र पालिकाको मानमर्दन हुने गरी गरिएको भ्रामक प्रचार प्रति सचेत हुन नगरवासीलाई गैरेले पनि आव्हान गर्नु भयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी हेमन्तले खाना खाजा खर्च, अनुगमन मूल्याङ्कन भ्रमण खर्च, थालेपोखरा लालिगुराँस क्रिकेट स्टेडियम, कोरोनामा राहत हस्तान्तरण, मामा किचन एण्ड काठमाडौं झोल मम,

सवारी साधन तथा मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, ईन्धन कार्यालय प्रयोजन, औषधि खरीद, फोहोर व्यवस्थापन खर्च, कार्यालय सार्ने बेलाको खर्च, बालमैत्री नगर घोषणाको बेला भएको खर्चबारे प्रस्ट पार्नुभएको थियो ।

सो अवसरमा कार्यक्रममा उपस्थित पत्रकारहरुले नगरपालिकामा भएको बेरुजु सैद्धान्तिक हो की अन्य, परिचय पत्र सुचिकरण शिविरको लागि जिल्ला प्रशासनबाट नै बजेट विनियोजन हुने र नगरपालिकासँग सहकार्यमा भएको हो कि

होईन, भ्रष्टाचार भयो अनियमिता भयो भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भईरहेको र नागरिकमा बेरुजुको परिभाषा बुझाउन नगरपालिकाले नसकेको हो कि, झोल मम शिर्षक मलेपले कसरी राख्यो र यसमा मलेपको त्रुटी कसरी हुन पुग्यो, ईन्धन खर्च अलि मितव्ययिता नभएको हो कि लगायतका विभिन्न प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो ।

प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतम, लेखा अधिकृत कृष्ण प्रसाद खरालले जवाफ दिनुभएको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतमको स्वागत र प्रशासकीय अधिकृत तुल बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्