१५ असार २०८१, शनिबार

 

एसइईको नतिजा आज साँझ सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज साँझ वा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’

उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

कसरी हेर्ने एसइईको रिजल्ट ?
एसइईको रिजल्ट IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिने जनाएको छ । IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसइईको रिजल्ट हेर्न सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमको http://see.ntc.net.np वेबसाइट पनि हेर्न सकिने जनाएको छ । यीबाहेक विभिन्न नीजि कम्पनीहरूले पनि राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा रिजल्ट हेर्न मिल्ने व्यवस्था गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्