१५ असार २०८१, शनिबार

 

लागू औषध नियन्त्रणाबारे बागलुङमा औषधी व्यवसायी र सरोकारवाला बिच अन्तरक्रिया

बागलुङ । लागू औषध समाजमा ठूलो समस्या बन्दै गइरहेकाले यसलाई नियन्त्रण गर्न सबैको सहयोग र भूमिका हुनुपर्ने बागलुङमा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्।

लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा औषधी व्यवसायी र सरोकारवालाहरु बिच आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको आयोजना, बागलुङ उद्योग वाणिज्य संघको सहआयोजना र जिल्ला प्रशासन कार्यालयमा बागलुङको समन्वयमा भएका कार्यक्रममा सुरक्षा निकायका, औषधी व्यवसायी लगाएतका सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले पछिल्लो समय लागू औषध प्रयोगकर्ता सङ्ख्या बढ्दै गएकाले यसको नियन्त्रण आवश्यक रहेको भन्दै लागू औषध दुरुपयोग एवं अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

सहरमात्र नभई दुर्गम क्षेत्रमा लागू औषध प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको नियन्त्रण हुन नसकेमा ठूलो सम्या निम्ताउने भएकोले नियन्त्रण अभियान सघाउने दायित्व सबैको भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुने बताउदै दुर्व्यसन आफैमा जति पीडा दायक छ त्यति नै दुर्व्यसनमा फसेकाको परिवारमा यसले पीडा दिने गरेको बताउनु भयो ।

घर परिवारले आफ्नो छोराछोरीको स्कुलको समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्न आग्रह गर्दै बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बुझ्ने र बुझाउने काम गर्नुपर्ने बताउनु भयो ।

पछिल्लो समयमा समाज भित्र लागू औषध प्रयोगकर्ताहरु अत्यधिक बढ्न जादा समाजलाई अशान्त बनाइरहेको समेत कँडेलले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले औषधी व्यवसायीले सुरक्षित व्यवसाय गरि लागू औषध नियन्त्रणा अभियानमा सघाउनु सवैको दायित्व रहेको जोड दिनु भयो ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङका अध्यक्ष खगेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र संचालन नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङका महासचिव सन्तोष शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्