१५ असार २०८१, शनिबार

 

पर्वतको फलेवास नगरपालिकामा ७१ करोड २८ लाख बजेट पारित

बागलुङ । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१,०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

फलेवासले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको ७१ करोड २८ लाख ८० हजार रुपैया बराबरको बजेट नगर सभाले पारित गरेको हो ।

१५ औँ नगर सभामा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट मध्ये पुँजीगत तर्फ १८ करोड ६ लाख अर्थात २५ दशमलब ३ प्रतिशत तथा चालु खर्च तर्फ ५३ करोड २२ लाख ४२ हजार अर्थात ७४ दशमलब ७ प्रतिशत रहेको छ ।

पुँजीगतमा सशर्त तर्फ ९ करोड ३६ लाख ३८ हजार र आन्तरिक तर्फ ८ करोड ७० लाख गरी कुल १८ करोड ६ लाख ३८ हजार बिनीयोजन गरिएको हो भने चालु वजेट शशर्त तर्फ ३६ करोड १६ लाख १३ हजार र आन्तरिक तर्फ ९ करोड ३३ लाख ६० हजार बिनीयोजन गरिएको छ ।

प्रस्तुत बजेट मध्ये नगरको आर्थिक विकासको क्षेत्रमा ४ करोड ६८ लाख ३६ हजार बिनीयोजन भएको छ भने सामाजिक विकास तर्फ ३९ करोड ८८ लाख, पूर्वाधार तर्फ १८ करोड ६ लाख ३८ हजार विनियोजन गरेको उपप्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

उपप्रमुख क्षेत्रीका अनुसार वातावरण तथा विपद व्यवस्थापनमा ८२ लाख, संस्थागत विकासतर्फ ५२ लाख, कार्यालय संचालनका लागि ९ करोड ३३ लाख ६० हजार विनियोजन गरिएको छ ।

नगरले कृषि क्षेत्रको विकासका लागि पुर्वाधार क्षेत्रमा विभिन्न १८ वटा योजनामा बजेट विनियोजन गरिएको हो ।

मुख्यतया नगरभित्रका सडकहरुको स्तरोन्नतीलाई जोड दिईएको छ भने नगरपालिकाको निर्माणाधिन भवन, विभिन्न वडा कार्यालय र संघीय सरकारको सहयोगमा श्रम मुलक सार्वजनिक निर्माण कार्यको लागि ५ करोड ५० लाख ३८ हजार विनियोजन गरिएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायतका पूर्वाधारको विकासका लागि विभिन्न साझेदारीमुलक कार्यक्रममा पनि बजेट व्यवस्थापन गरिएको उपप्रमुख क्षेत्रीले बताउनुभयो ।

यसअघि नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गंगाधर तिवारीले समृद्ध फलेवास नगर, खुसी नगरवासीको नारालाई साकार बनाउनका लागि विभिन्न कार्यक्रम थालनी गरिएको बताउनुभयो ।

फलेवासले पहिलो पटक बाँदर नियन्त्रणको योजना अघि सारेको छ । बढ्दो बाँदरको आतंक न्यूनिकरण गर्नका लागि विशेष योजना अघि सारेर ११ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरी पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना, उत्पादन साथमा अनुदान हातमा कार्यक्रम, परदेशको ज्ञान, फलेवासको माटोमा योगदान जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसका लागि बजेट समेत व्यवस्थापन गरिएको नगरप्रमुख तिवारीले बताउनुभयो । नगपालिकाले आफ्नै अपनत्वमा तीनवटा एम्बुलेन्स संचालन गर्ने योजना समेत बनाएको छ । चौविसै घण्टा सेवा दिने गरी नगरको कार्कीनेटा, भँगरा र फलेवास क्षेत्रमा तीन वटा एम्वुलेन्स संचालन गर्न थालिएको हो ।

त्यसैगरी विपन्न र असहाय नागरिकसँग नगरपालिका कार्यक्रम, खरको छाना विस्थापन अभियानलगायतका कार्यक्रम पनि संचालन गरिने नगरप्रमुखले निति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्