१५ असार २०८१, शनिबार

 

जैमिनी नगरपालिकाद्वारा ७१ करोड ८७ लाख बजेट प्रस्तुत

बागलुङ। जैमिनी नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख २१ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १५औं नगरसभामा उपप्रमुख हरिहर शर्माले नगरपालिकाको आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन ।

गरिबी निवारणमा चासो राखेको जैमिनीले खरका छाना विस्थापित गर्न देखी उत्पादनको आधारमा किसानलाई अनुदान र कृषि एम्बुलेस खरिद गर्नका निम्ती बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले आर्थिक विकास तर्फ विभिन्न क्षेत्रमा ससर्त बाहेक १ करोड, ९६ लाख ३९ हजार २ सय ७० रुपैयाँ ५६ पैसा विनियोजन गरेको छ । नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने भन्दै कृषि एम्बुलेन्स खरिदका लागि संघीय सरकारसँग साझेदारी गर्नेगरी २५ लाख रुपैयाँ बिनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

सेराजाउँ केरा खाउँ कार्यक्रमका लागि १२ लाख र तरकारी पकेट क्षेत्रका लागि ७ लाख रुपैयाँ बिनियोजन गरिएको छ । दुधको उत्पादनका आधारमा अनुदान दिँदै आएको नगरपालिकाले आगामि आर्थिक बर्षदेखि अनुदान रकम बृद्धि गर्ने भएको छ ।

एक रुपैयाँ प्रतिलिटर अनुदान दिँदै आएको नगरले प्रतिलिटर दुई रुपैयाँ अनुदान बृद्धि गरेको उपप्रमुख शर्माले बताउनु भयो । नगरपालिकाले यस क्षेत्रमा बढ्दो समस्याको रुपमा रहेको बाँदर आतंक रोक्नका लागि बाँदर बगैचाको निर्माणको विस्तृत परियोजना प्रतिवेदनका आधारमा पुर्वाधार थप गर्नका १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले जैमिनी लगानी सम्मेलनका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।नगरपालिको पुर्वाधार विकास तर्फ प्रथम आवधिक नगर विकास योजनाको दिर्घकालिन सोच, लक्ष्य र उद्देश्य अनुसार नगरपालिकाको न्युनतम पुर्वाधार सुनिश्चिता कार्यक्रमलाई प्राथमिकता दिई पुर्वाधार विकासका लागि ६ करोड ५१ लाख ३ हजार ३६६ रुपैयाँ ९२ पैसा रकम विनियोजन गरेको छ ।

नगरपालिकाले सामाजिक विकास तर्फ ३ करोड ७४ लाख ७७ हजार ९ सय २८ रुपैयाँ बजेट विनियोजन गरेको छ । घरविहीनको घर बनाइदिन ३० लाख रुपैयाँ विनियोजन गरिएको छ भने लिड विद्यालय सञ्चालन गरेर विद्यार्थी बढाउन १० लाख, नागरिकको स्वास्थ्य उपचार कोषका लागि १५ लाख र विद्यार्थी प्रोत्साहन कोष पनि बनाउने गरी बजेट व्यवस्था गरिएको छ ।

नगरपालिकाले न्युनतम सेवा प्रवाह मापदण्ड तर्जुमा गरी कार्यान्वय गर्न ३ लाख, नगरपालिकाका विभिन्न वडा कार्यालयको संस्थागत क्षमता सुधार गर्न लगायतका सुसान र संस्थागत विकासका निम्ती ७७ लाख ८६ हजार ४ सय ३२ रुपैयाँ रकम बजेट विनियोजन गरेको नगरउपप्रमुख शर्माले बतानुभयो।

 

प्रतिक्रिया दिनुहोस्