१५ असार २०८१, शनिबार

 

बागलुङ नगरपालिकाको बजेट १ अर्ब ६१ करोड

बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१,८२ का लागि एक अर्ब ६१ करोड बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षका लागि एक अर्ब ३३ करोड बजेट ल्याएको नगरपालिकाले यस पटक २८ करोडले बढाएर एक अर्ब ६१ करोड बजेट ल्याएको हो ।

सोमबार नगर सभा बैठकमा नगर उपप्रमुख राजु खड्काले उक्त बजेट प्रस्तुत गर्नु भयो ।

नगरपालिकामा नेपाल सरकारको वित्तीय समानिकरणतर्फ १५ करोड ७८ लाख, ससर्त अनुदानतर्फ ९९ करोड ८७ लाख ३८ हजार, समपूरक अनुदानतर्फ ४ करोड, प्रदेश सरकारबाट प्राप्त हुँने समानिकरण अनुदान तर्फ २ करोड २६ लाख, समपुरक र विशेष अनुदान एक करोड, संघ प्रदेश र स्थानीय तहको राजश्व १६ करोड ४९ लाख, आन्तरिक राजश्व आय तर्फ ७ करोड ४९ लाख ८२ हजार र बैंक मौजात तथा विविध आय मा १४ करोड ५८ लाख समेत गरी एक अर्ब ६१ करोड ५८ हजार आय अनुमान गरी बजेट ल्याइएको छ ।

नगरपालिकाले आन्तरिक आय बढाउने लक्ष्यका साथ बजेट ल्याएको हो । उक्त बजेटमा चालुतर्फ ८४ करोड २ लाख र पूँजीगत तर्फ ७६ करोड ६९ लाख ३४ हजार बजेट बिनियोज गरिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाले आर्थिक विकास तर्फको नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, आत्मनिर्भर बागलुङ, कृषि, पशुपन्छी लगायतका कार्यक्रममा ५ करोड ५१ लाख, पूर्वाधार विकास तर्फ ६२ करोड २ लाख, सामाजिक विकास तर्फ ६१ करोड २४ लाख, सुशासन तर्फ ११ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ । बालमैत्री कार्यक्रमका लागि १ करोड ९५ लाख, दिवा खाजाका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ ।

आगामी वर्षका लागि तालिम, भ्रमण तथा बैठक भत्ता कटौती गरेको नगर उपप्रमुख खड्काले जानकारी दिनु भयो । त्यस्तै सत्तपत्ति कर तथा भूमिकर प्रयोजनको लागि कायम भएको जग्गाको न्युनतम मूल्यांकनका सम्बन्धमा वडा नं १४ लाई पनि बजार विस्तारको क्षेत्र बनाई कर संकलन बढाउने लक्ष्य राखिएको छ ।

नगरका पार्क नीजिक्षेत्रलाई दिएर कर लिने नीति बनाइएको छ । पुस मसान्तभित्रबुझाउने कर समयमा तिरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यो नीतिले करदातालाई प्रोत्साहन मिल्ने आशा लिइएको छ ।

नगरपालिकाले आत्मनिर्भर बागलुङ, गोरु संरक्षण हनुमान नाँच संरक्षण, कुकुर सेल्टर हाउस, नगरकी छोरी कार्यक्रम, बागलुङ बजार शौन्दर्यकरण, नगर अस्पतालको नयाँ भवन सञ्चालन, विद्यालयमा नर्स कार्यक्रमलाई थप गर्ने, सबै स्वास्थ्य संस्था बालमैत्री, किशोर किशोरीमैत्री र पोषणमैत्री घोषणा, टाढाका विद्यार्थीलाई आवासको व्यवस्था लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

यस्तै रायडाँडा विशेष कार्यक्रम, डोयको डाँडामा ब्लुहिल पूर्वाधार निर्माण,नगरप्रमुखसँग जेठ नागरिक लगायतका नीति तथा कार्यक्रमलाई समेट्नेगरी बजेट ल्याइएको छ ।

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि तथा पशुपालनलाई आधुनिकरण गर्ने, बाँझो जग्गामा फलफूल खेति गर्ने, बजार क्षेत्रमा कौशी खेती प्रर्बद्धन गर्ने लगायतका कार्यक्रममा बजेट ल्याएको छ ।

यस्तै नगरपालिकाले पाडापाडी संरक्षणका लागि ‘आज होइन भोलिलाई, पालौ पाडा बाच्छीलाई’ भन्ने राराका साथा बाच्छी र पाडीको निःशुल्क बिमा, औषधि उपचार र सुत्केरी पशुलाई भिटामिन लगायतका औषधि उपलब्ध गराउने र बाच्छी र पाडी पाल्ने कृषकलाई सम्मान गर्ने कार्यक्रमलाई बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्