१५ असार २०८१, शनिबार

 

जैमिनी नगरको नीति तथा कार्यक्रम : एक वडा एक आवासीय विद्यालय

- स्वास्थ्य, शिक्षा, सडक र कृषि उच्च प्राथमिकतामा

बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले कृषिमा बाँझो जग्गाको उपयोग र शिक्षामा प्राविधिक विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बाँझो जग्गाको उपयोगका लागि कृषि मजदुरको परिचालन र भुमी बैंक स्थापनाको अवधारण नगरले सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०८१ र ८२ मा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले पकेट क्षेत्रको विस्तारमा जोड दिएको छ ।

आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले जैमिनी नगरपालिका-१ कुश्मीशेरामा केराको पकेट क्षेत्र विस्तार गर्ने भन्दै ‘सेरा जाउँ केरा खाउँ’ अभियान सञ्चालन गर्ने घोषणा गरे । वडा नं २ र ३ दमेकलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गरेर तरकारीमा आत्मनिर्भर बन्दै निर्यातको नीति लिएको उनले बताए ।

‘गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला’ नारासहित शिक्षण सिकाईलाई गुणस्तरीय बनाउन विद्यालयदेखि अभिभावकसम्मको मुल्यांकन गरेर न्युनतम सेवा मापदण्ड लागु गर्ने नीति नगरले बनाएको छ ।

एक वडा एक आवासीय विद्यालय, एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गरेर हरित विद्यालय अभियान सञ्चालन गरिने नगर प्रमुख पुनले घोषणा गरे । विदेशमा सीप सिकेकाहरुको सीप परीक्षण गरेर प्रमाणपत्र वितरण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने नीति समेत जैमिनीले सार्वजनिक गरेको छ ।

‘अवसर र सम्भावनाको खानी, गरौं जैमिनीमा लगानी’ भन्ने नाराका साथ लगानी सम्मेलन गर्ने, बाँदर बगैंचाका काम अघि बढाउने र जैमिनी धाम विकास समितिको गठन गर्ने जस्ता महत्वकांक्षी योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सहकारीको प्रवद्र्धन, पर्यटनको पहिचान र पूर्वाधारमा विकास, वडा कार्यालयसम्म पिच बाटो पुर्याउने, घरदैलो स्वास्थ्य सेवाको विस्तार, वडा कार्यालयबाट सबै खालको सेवा दिने, जेष्ठ नागरिक, एकल महिला, दलित, अल्पसंख्यक, विपन्न वर्ग र समुदायको हितमा सामाजिक कल्याणको कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्