१५ असार २०८१, शनिबार

 

माओवादी केन्द्र बागलुङ नगरसमितिद्वारा बागलुङ नगरपालिकाको ध्यानाकर्षण

बागलुङ । माओवादी केन्द्र बागलुङ नगरसमितिले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

शुक्रबार नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई बागलुङ नगरपालिकाको १५ औँ नगर सभाको लागि विभिन्न विषयमा सुझावसहित नगर समितिका कोषाध्यक्ष बसन्त मल्ल र सहसचिव जिवन शर्माको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा अपाङग मैत्री सडक, स्वच्छ खानेपानी, कृषि र पशुपालनमा व्यवसायीक सुधार, युवाहरुलाई आत्मनिर्भर बनाउने खालको तालिम दिएर स्वरोजगार कार्यक्रम, एकिकृत वस्ती निर्माण, बागलुङ नगरभित्रका शहीद परिवार, वेपत्ता, दलित, जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरु र एकल महिलाहरुलाई पहिचान कार्डको व्यवस्था, गरिव, दलित र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तीसहित उच्च शिक्षाको व्यवस्था गर्नु पर्ने, बलेवा एयरपोर्टलाई हवाई तालिम केन्द्र बनाउनु पर्ने, बाँदर नियन्त्रणको कार्यक्रम ल्याउनु पर्ने उल्लेख छ ।

हामीले अब हुन लागेको नगर सभाबाट स्वास्थ्य, कृषि, वन, सडक, पर्यटन, उद्योग, सिचाई र सामाजिक सुधारको कार्यक्रम ल्याएर नगरवासीको हितमा काम होस भनेर नगर नेतृत्वलाई ध्यानाकर्षण गराएको माओवादी केन्द्र बागलुङ नगरसमितिका कोषाध्यक्ष बसन्त मल्लले नयाँ विश्वलाई बताउनु भयो ।

सुझाव प्रस्तुत गर्ने कार्यक्रममा प्रदेश सदस्य चन्द्रबहादुर थापा शिखर, बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष तथा प्रदेश कुमार विक्रम क्षेत्री, प्रदेश सल्लाहकार रुद्र शर्मा, जिल्ला समन्वय सदस्य रामबहादुर विक, नगर सचिवालय सदस्य नरबहादुर केसी, माओवादी केन्द्र बागलुङ नगरपालिका-३ का वडा अध्यक्ष राजन शर्मा र वाइसिएलका नगर संयोजक राजु विकको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्