१२ असार २०८१, बुधबार

 

बागलुङ बजारका व्यवसायीको पसल तोडफोड गर्ने २ जना पक्राउ

बागलुङ । व्यवसायीको पसल तथा सवारी साधनमा तोडफोड गरेको आरोपमा २ जना पक्राऊ परेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघले दिएको जाहेरी दरखास्तको आधारमा तोडफोडमा संलग्न बागलुङ नगरपालिका-१० का ४६ वर्षीय कृष्ण भण्डारी र बागलुङ नगरपालिका-८ का हरि जिसी पक्राउ परेका हुन् ।

भण्डारीलाई गत शुक्रवार र जिसीलाई आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरु दिलिसा भण्डकीको मृत्यु प्रकरणमा बागलुङ बजार बन्द आव्हान गर्दै विभिन्न पसलहरु र सवारी साधनमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उद्योग वाणिज्य संघले उनीहरु सहित बागलुङ नगरपालिका-१० की सावित्री खड्काका विरुद्धमा पनि प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।

खड्का भने फरार रहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले खानेपानी बोक्ने सवारी साधन र विद्युत प्राधिकरणको सवारी साधनमा समेत क्षेति पुर्याएको जाहरीमा उल्लेख छ ।

पक्राउ परेका उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्